DigiNepal

हिमाली औषधीय वनस्पति र च्याउ संरक्षणमा क्षेत्रीय सहकार्य अपरिहार्यः मन्त्री चौधरी

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हिमाली क्षेत्रका जङ्गली औषधीय तथा सुगन्धित वनस्पति र च्याउ (फङ्गी) को संरक्षण, दिगो उपयोग तथा व्यापार व्यवस्थापनका लागि क्षेत्रीय सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ ।

‘जङ्गली हिमाली औषधीय तथा सुगन्धित वनस्पति र च्याउसम्बन्धी क्षेत्रीय सहकार्य’ विषयक आज यहाँ आयोजित कार्यक्रममा उहाँले हिमालय पहाडको शृङ्खला मात्र नभई जीवन, पहिचान र समृद्धिको साझा स्रोत भएको उल्लेख गर्नुभयो ।

मन्त्री चौधरीले हिमाली जैविक विविधताको संरक्षणसँगै स्थानीय समुदायको जीविकोपार्जन र आर्थिक समृद्धि सुनिश्चित गर्न छिमेकी मुलुक तथा अन्तरराष्ट्रिय साझेदारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

उहाँले हिमाली वन तथा प्राकृतिक भूदृश्यले नदी प्रणालीलाई जीवन्त राख्न, जैविक विविधताको संरक्षण गर्न र लाखौँ मानिसको जीविकोपार्जनमा योगदान पु¥याइरहेको बताउनुभयो ।

जङ्गली औषधीय तथा सुगन्धित वनस्पति र च्याउ हिमाली समुदायका लागि आयआर्जन, मर्यादा र आशाका स्रोत भएको उल्लेख गर्दै मन्त्री चौधरीले यस्ता प्राकृतिक सम्पदाको दिगो उपयोगबाट हरित तथा न्यायपूर्ण अर्थतन्त्र निर्माण गर्न सकिने बताउनुभयो ।

उहाँले जलवायु परिवर्तन, पारिस्थितिकीय प्रणालीको क्षय तथा अव्यवस्थित व्यापारले हिमाली प्राकृतिक सम्पदामाथि जोखिम बढाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हिमालयले हामीलाई जोडेको छ, हाम्रा नीति र साझेदारीहरूले पनि त्यो जोडाइलाई प्रतिबिम्बित गर्नुपर्छ ।”

मन्त्री चौधरीले हिमाली मुलुकले जलवायु परिवर्तन, पारिस्थितिकीय प्रणालीको क्षय र अव्यवस्थित व्यापारजस्ता चुनौती एक्लाएक्लै समाधान गर्न नसक्ने भएकाले राष्ट्रिय सार्वभौमसत्ता, घरेलु कानुन र राष्ट्रिय प्राथमिकताको सम्मान गर्दै क्षेत्रीय सहकार्य अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा भुटान, भारत र चीनका सरकारी प्रतिनिधि, अन्तरराष्ट्रिय सङ्घसंस्था, बेलायतको अन्तरराष्ट्रिय विकास, एन्साब, विकास साझेदार, प्राज्ञिक क्षेत्र, विज्ञ, सामुदायिक अगुवा तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता छ ।

0 reactions0 comments
React

Comments 0

Comments are public and moderated. Don't share phone numbers, emails or ID numbers.

No comments yet. Start a respectful conversation.

    Related updates

    All updates