DigiNepal

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

Office of the Prime Minister and Council of Ministers · Posted by Moti Khanal
Published

काठमाडौँ, ६ असोजः संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै हुनुहुन्छ ।

उहाँको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत हुनुहुन्छ । प्रधानमन्त्री शाह त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानबाट त्यसतर्फ प्रस्थान गर्नुहुनेछ ।

प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई यही असोज ८ गते (सेप्टेम्बर २४) मा सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री शाहले नेतृत्व गर्नुहुने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनालसहितको सहभागिता रहने छ ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री शाह यही असोज १० गते स्वदेश फर्कनुहुने कार्यक्रम छ । प्रधानमन्त्री शाहको यो पहिलो विदेश भ्रमण हो ।

Source: National Portal of Nepal (nepal.gov.np). DigiNepal mirrors public updates from the National Portal for easier reading and discovery. DigiNepal is an independent service and is not affiliated with, or endorsed by, the National Portal of Nepal or the offices that publish there. Always check the source for the authoritative version.

More official updates