आज देशभर बदली, विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । देशभर आज सामान्यतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भू–भागमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार दिउँसो कोशी र बागमती प्रदेशका हिमाली भू–भागका केही स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित मध्यम वर्षा वा हिमपात हुनसक्नेछ।
यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
तराई क्षेत्रमा पनि वर्षाको सम्भावना छ। मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई भू–भागका साथै बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ।
राति पनि वर्षाको सम्भावना
राति पनि देशभर सामान्यतया बदली रहने पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित मध्यम वर्षा वा हिमपात हुनसक्नेछ।
त्यसैगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा राति पनि मेघगर्जन र चट्याङ्सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा समेत राति वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।