DigiNepal

वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्न सरकारको पहल तीव्र

सरकारले आफ्नो नीति तथा कार्यक्रममा घोषणा गरेअनुसार वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रुपान्तरण गर्ने दिशामा तीव्र ढंगले काम अगाडि बढाएको छ।

आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा घोषणा गरेको ‘रोजगार प्रवर्द्धन दशक (२०८३–२०९२)’लाई व्यवहारमा उतार्न आफ्नो कार्ययोजनालाई सरकारले निरन्तरता दिएको हो।

युवा जनशक्तिको ऊर्जा तथा सीपलाई स्वदेशमै उपयोग गर्ने वातावरण निर्माण गर्ने नीतिगत लक्ष्यअनुरूप युवा, श्रम तथा रोजगार मन्त्रालयले असोज १४ देखि २० गतेसम्म कोशी प्रदेशको इटहरीमा सात दिने सीप तथा रोजगार मेला आयोजना गर्दैछ। यस अभियानलाई देशभर विस्तार गर्न मन्त्रालयले ‘सीप तथा रोजगार मेला सञ्चालन निर्देशिका, २०८३’ जारी गरी काम थालिसकेको छ।

यसै क्रममा श्रम मन्त्रीको संयोजकत्वमा निर्देशन तथा समन्वय समिति गठन गरी प्रदेश सरकार, स्थानीय तह र जिल्ला प्रशासनसँगको सहकार्यमा मेलाको समग्र व्यवस्थापन भइरहेको छ।

यस मेलामा निजी क्षेत्र, उद्योग-प्रतिष्ठान, तालिम प्रदायक संस्था, विकास साझेदार र सामाजिक सुरक्षा कोष लगायतका स्टल रहनेछन्। मेलाले रोजगारदाताको वास्तविक जनशक्ति माग पहिचान गरी रोजगार खोजकर्तालाई उनीहरूको योग्यता, सीप र रुचिअनुसार रोजगारी मिलान, सीप परीक्षण, तालिम, करियर परामर्श र उद्यमशीलता सेवासँग जोड्ने लक्ष्य लिएको छ।

यसरी सरकारले नीति तथा कार्यक्रममा लिएको लक्ष्यअनुसार स्वदेशमै रोजगारीका अवसर अभिवृद्धि गर्ने कार्यलाई ठोस रूपमा अघि बढाइरहेको छ।

0 reactions0 comments
React

Comments 0

Comments are public and moderated. Don't share phone numbers, emails or ID numbers.

No comments yet. Start a respectful conversation.

    Related updates

    All updates