DigiNepal

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन

Ministry of Women, Children, Gender and Sexual Minorities and Social Security · Posted by Niraj
Published

उद्धार गरिएका तथा संरक्षण आवश्यक बालबालिकालाई सुरक्षित आवास, उपचार, मनोसामाजिक सहयोग र परिवारसँग पुनर्मिलनसम्मको सेवा

विपद्का कारण परिवारबाट छुटेका, अभिभावक तथा संरक्षकविहीन भएका र विशेष संरक्षणको आवश्यकता परेका बालबालिकाको सुरक्षा तथा संरक्षणका लागि सरकारले ‘स्याहार योजना’ कार्यान्वयनमा ल्याएको छ। योजनाअन्तर्गत ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोमा बालबालिकाका लागि अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालनमा आएको छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको पहलमा राष्ट्रिय बाल अधिकार परिषद्ले सञ्चालनमा ल्याएको ठेचोस्थित केन्द्र विपद् प्रभावित तथा विशेष संरक्षण आवश्यक बालबालिकाका लागि तत्काल सुरक्षित आश्रय र आवश्यक संरक्षण सेवा उपलब्ध गराउने केन्द्रका रूपमा सञ्चालन गरिएको हो।

केन्द्रमा बालबालिकाका लागि सुरक्षित आवास, खानपान, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, पारिवारिक अवस्था पहिचान तथा परिवार वा आफन्तको खोजी लगायतका सेवा उपलब्ध गराइनेछन्। बालबालिकाको सर्वोत्तम हित र सुरक्षा सुनिश्चित गर्दै सम्भव भएसम्म उनीहरूलाई परिवार वा उपयुक्त आफन्तसँग सुरक्षित पुनर्मिलन गराइनेछ।

परिवार वा आफन्तसँग सुरक्षित पुनर्मिलन सम्भव नभएको अवस्थामा मात्र, बालबालिकाको सर्वोत्तम हित, सुरक्षा र आवश्यकताको मूल्याङ्कनका आधारमा प्रचलित कानुन तथा मापदण्डबमोजिम दीर्घकालीन सुरक्षित संरक्षणको व्यवस्था अन्तिम विकल्पका रूपमा गरिनेछ।

Source: National Portal of Nepal (nepal.gov.np). DigiNepal mirrors public updates from the National Portal for easier reading and discovery. DigiNepal is an independent service and is not affiliated with, or endorsed by, the National Portal of Nepal or the offices that publish there. Always check the source for the authoritative version.

More official updates