DigiNepal

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाइने छः अर्थमन्त्री डा. वाग्ले

Office of the Prime Minister and Council of Ministers · Posted by Moti Khanal
Published

काठमाडौँ, ७ असोजः अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाइने बताउनुभएको छ । प्रतिनिसिभाको आजको बैठकमा ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री डा वाग्लेले मुलुकभित्रको आम्दानी र खर्चका बीचमा खाडल रहेकाले भएकाले अन्तरिक र बाह्य स्रोतको सन्तुलनका लागि यस्ता कोषलाई प्रतिफलमुखी र सुरक्षितरूपमा परिचालन गर्नुपर्ने बताउनुभयो ।

मन्त्री वाग्लेले राष्ट्रिय बचतले नधान्ने अवस्थामा जनताको रकम जम्मा गरेर निर्मित सार्वजनिक कोषहरूलाई कुन हदसम्मको लचिलो बनाउने भन्ने सवालमा सरकार जोखिम व्यवस्थापनप्रति गम्भीर हुने स्पष्ट गर्नुभयो ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरू सुशील खड्का, कृष्णहरि बुढाथोकी, नीतिमा भण्डारी कार्की, माधवबहादुर थापा, सीताराम साह, प्रभा ढकाल, जनकसिंह धामी, मञ्जु भुसाल, देवराज पाठक, गोविन्द पन्थी, प्रभा कार्की, परशुराम तामाङ, अमृता विक, राधिका रम्तेल, श्रीराम न्यौपाने, गणेशबहादुर विश्वकर्माले भाग लिनुभयो ।

यस्तै सांसदहरू प्रेमलाल चौधरी, आशिष गजुरेल, बलावती शर्मा, ललिता कुमारी, गोपाल शर्मा, पुकार बम, निराशा चौधरी डगौरा, हरिमोहन भण्डारी, ज्ञानेन्द्रसिंह महता, बोधनारायण श्रेष्ठ, विश्वराज पोखरेल, एशुदाकुमारी बराल, गुरूप्रसाद बारल, अम्बिकादेवी सङ्ग्रौला, मधुकुमार चौलागाईँ र भरत गिरीले छलफलमा माग लिनुभयो ।

सांसदहरूले कोषलाई समयानुकूल विकसित गर्दै लगानीयोग्य र प्रभावकारी बनाउन सुझाव दिनुभयो । कोषले हाल तीन खर्ब ३७ अर्बको बचत व्यवस्थापन गरिरहेकाले सुरक्षित, प्रतिफलयुक्त र पारदर्शी लगानी बढाउन सांसदहरूको आग्रह छ ।

विधेयकमाथि अब सांसदहरूले दिने संशोधनका आधारमा सम्बन्धित समितिमा दफाबार छलफल हुनेछ । सभाको बैठक जारी छ ।

Source: National Portal of Nepal (nepal.gov.np). DigiNepal mirrors public updates from the National Portal for easier reading and discovery. DigiNepal is an independent service and is not affiliated with, or endorsed by, the National Portal of Nepal or the offices that publish there. Always check the source for the authoritative version.

More official updates