DigiNepal

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

Office of the Prime Minister and Council of Ministers · Posted by Moti Khanal
Published

सोलुखुम्बु, १० असोजः सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ । निरन्तरको वर्षापछि खुम्बुको माथिल्लो भेगमा हिमपात सुरु भएको हो ।
प्रमुख जिल्ला अधिकारी कमानसिंह थापा मगरका अनुसार खुम्बुको उच्च क्षेत्रमा आधा मिटरभन्दा बढी हिउँ जमिसकेको छ । हिमपातका कारण पदयात्रा तथा पर्वतारोहणका लागि माथिल्लो क्षेत्रमा गएका पर्यटकलाई जोखिमयुक्त स्थानतर्फ थप अघि बढ्न रोक लगाइएको छ । उहाँले भन्नुभयो ,“माथिल्लो क्षेत्रमा भारी हिमपात भइरहेको छ । कतिपय स्थानमा आधा मिटरभन्दा बढी हिउँ जमेको जानकारी आएको छ । पर्यटकको सुरक्षालाई प्राथमिकतामा राखेर स्थानीय तह, स्थानीयवासी र प्रहरीसँग समन्वय गरी उनीहरुलाई सुरक्षित स्थानमा राख्ने काम भइरहेको छ ।”
भारी हिमपातका कारण सगरमाथा क्षेत्रको इम्जा छे (आइल्यान्ड पिक) क्षेत्रमा रोकिएका सात जना विदेशी पर्यटकको उद्धार गरिएको छ । प्रमुख जिल्ला अधिकारी थापामगरका अनुसार चिनीया मूलका ती पर्यटक युरोपेली नागरिक भएको जानकारी आएको छ । हिमपातका कारण माथिल्लो क्षेत्रमा आवागमन कठिन भएपछि स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको सहयोगमा उनीहरुलाई सुरक्षित स्थानमा ल्याइएको हो ।

इम्जा छे अर्थात् आइल्यान्ड पिक सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्ने खुम्बु क्षेत्रको महत्वपूर्ण पर्वतारोहण गन्तव्य हो । नेपाल पर्यटन बोर्डका अनुसार दिङबोचेबाट इम्जा खोला हुँदै चुकुङतर्फ जाने पदमार्ग सगरमाथा आधार शिविर क्षेत्रको प्रमुख पदयात्रा मार्गसँग जोडिन्छ । आइल्यान्ड पिकलाई स्थानीय नाम इम्जा छेले चिनिन्छ । यो क्षेत्र समुद्री सतहबाट करिब छ हजार १६५ मिटर उचाइमा रहेको र खुम्बु हिमाल क्षेत्रमा पर्ने पर्वतारोहण गन्तव्य हो । नेपाल सरकारको पर्यटन तथ्याङ्कमा रूपमा अभिलेख गरिएको छ ।
प्रतिकूल मौसमका कारण माथिल्लो क्षेत्रमा थप पर्यटक तथा पदयात्रीलाई जान नदिन स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरिएको छ । हाल सगरमाथा क्षेत्रमा एक हजार दुई सयभन्दा बढी पर्यटक रहेको प्रशासनको भनाइ छ । उनीहरुको अवस्थाबारे स्थानीय तह, प्रहरी तथा अन्य सरोकारवाला निकायमार्फत निरन्तर जानकारी लिइरहेको प्रशासनले जनाएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीका अनुसार प्रतिकूल मौसमका कारण पर्यटक तथा पदयात्रीलाई सावधानी अपनाउन गाउँपालिकाले सूचना जारी गरेको छ । “मौसम प्रतिकूल भएकाले पर्यटकको सुरक्षालाई प्राथमिकता दिएका छौँ । जोखिमयुक्त अवस्थामा अनावश्यक रूपमा माथि नजान आग्रह गरिएको छ,” उहाँले भन्नुभयो ।
सगरमाथा राष्ट्रिय निकुञ्जका अनुसार खुम्बु क्षेत्र हिमाली पारिस्थितिक प्रणालीमा पर्ने उच्च जोखिमयुक्त भौगोलिक क्षेत्र हो । निकुञ्जको माथिल्लो भागमा हिमनदी, हिमाल र गहिरा उपत्यका रहेका छन् । इम्जा खोला प्रणालीसमेत निकुञ्जको महत्वपूर्ण जलाधार क्षेत्रमा पर्छ । नेपाल पर्यटन बोर्डले सगरमाथा क्षेत्रलाई उच्च हिमाली भूगोलका कारण मौसममा तीव्र परिवर्तन हुने क्षेत्रका रूपमा उल्लेख गरेको छ । यहाँको माथिल्लो क्षेत्रमा तापक्रम न्यून हुने र वर्षा तथा हिमपातका कारण पदयात्रा तथा पर्वतारोहण प्रभावित हुनसक्ने भएकाले मौसमको अवस्थाअनुसार यात्रा गर्नुपर्ने हुन्छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकाले समेत उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएपछि पर्यटक, पदयात्री, पर्वतारोही, गाइड तथा भरियालाई मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमपूर्ण अवस्थामा अनावश्यक आवागमन नगर्न आग्रह गरेको छ । गाउँपालिकाले थुक्ला, थोरकसेप र गोक्योलगायत उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी थापामगरका अनुसार हिमपात बढ्दै गएमा उच्च क्षेत्रमा रहेका पर्यटक तथा पदयात्रीको उद्धारका लागि स्थानीय तह, प्रहरी, प्रशासन र स्थानीयवासीबीच समन्वय कायम गरिएको छ । “विपद्को समयमा स्थानीय जनप्रतिनिधि सक्रिय हुनुहुन्छ । जिल्ला विपद् व्यवस्थापन समितिसँगको समन्वयमा आवश्यक उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि तयारी अवस्थामा छौँ,” उहाँले भन्नुभयो । प्रशासनले मौसम सामान्य नभएसम्म उच्च क्षेत्रमा अनावश्यक आवागमन नगर्न र स्थानीय प्रशासन तथा पालिकाले जारी गरेका सूचनाको पालना गर्न आग्रह गरेको छ ।

Source: National Portal of Nepal (nepal.gov.np). DigiNepal mirrors public updates from the National Portal for easier reading and discovery. DigiNepal is an independent service and is not affiliated with, or endorsed by, the National Portal of Nepal or the offices that publish there. Always check the source for the authoritative version.

More official updates