DigiNepal

नेपाल संवत् ११४७ देशभर विविध कार्यक्रमका साथ मनाइँदै, म्हः पूजा गरिँदै

काठमाडौँ, २६ कात्तिक- मौलिक संवत्‌का रूपमा स्थापित नेपाल संवत् ११४७ आज देशभर विविध रचनात्मक एवं सांस्कृतिक कार्यक्रम आयोजना गरी हर्षोल्लासका साथ मनाइँदैछ। यस अवसरमा नेवार समुदायले नयाँ वर्षको स्वागत गर्नुका साथै आत्मशुद्धिका लागि ‘म्हः (आत्म) पूजा’ विधिपूर्वक गर्दैछन्।

​इतिहासअनुसार राष्ट्रिय विभूति शङ्खधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरिब तथा विपन्न जनताको ऋणमोचन गरी नेपाल संवत्‌को शुरुआत गराउनुभएको थियो। नेपालको आफ्नै मौलिक नामबाट नामकरण गरिएको यो संवत् लिच्छविकालका राजा राघवदेवको शासनकालदेखि प्रचलनमा आएको हो।

लिच्छविकालअघि मुलुकमा ‘शक संवत्’ प्रचलनमा रहेको ऐतिहासिक दस्तावेजहरूमा उल्लेख छ।

​इतिहासका विभिन्न कालखण्डमा राष्ट्रिय मान्यता पाउँदै आएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म आधिकारिक राष्ट्रिय संवत्का रूपमा प्रयोग भएको थियो। तत्पश्चात ओझेलमा परेको यस संवत्लाई पुनः राष्ट्रिय मान्यता दिलाउन विसं २००७ मा प्रजातन्त्रको स्थापनासँगै विभिन्न स्तरबाट बौद्धिक तथा व्यावहारिक अभियानहरू सञ्चालन हुँदै आएका छन्।

​ऐतिहासिक योगदान र राष्ट्रिय मान्यता
​गरिब जनतालाई ऋणमुक्त गराएर सामाजिक सेवाको अनुपम तथा उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुका साथै मौलिक संवत् सञ्चालनमा ऐतिहासिक योगदान पुर्‍याएको उच्च मूल्याङ्कन गर्दै तत्कालीन सरकारले विसं २०५६ सालमा शङ्खधर साख्वाःलाई ‘राष्ट्रिय विभूति’ घोषणा गरेको थियो। यसैगरी, विसं २०६५ मा नेपाल संवत्‌ले राष्ट्रिय मान्यता पाउने घोषणा गरिएको थियो।

​विशेषगरी काठमाडौँ उपत्यकासहित ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखाको भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका विभिन्न स्थानहरूमा यो पर्व विशेष सांस्कृतिक उल्लासका साथ मनाउने गरिन्छ। यस अवसरमा काठमाडौँलगायतका क्षेत्रमा कार्तिक कृष्ण औँसीका दिन पुरानो बहीखाता बन्द गरी कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाताको शुरुआत गर्ने प्राचीन परम्परा समेत हालसम्म कायम छ।

​म्हः (आत्म) पूजाको धार्मिक तथा दार्शनिक महत्व

​नेपाल संवत्को नयाँ वर्षकै अवसरमा नेवार समुदायले आज आफ्नो शरीर तथा आत्माको शुद्धिकरण एवं दीर्घायুको कामना गर्दै ‘म्हः पूजा’ (आत्म पूजा) गर्दैछन्। धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार ‘मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण हो’ भन्ने दार्शनिक मान्यताका आधारमा आफ्नै आत्माको विशेष आराधना गर्ने यो परम्परा नेपालको मौलिक सांस्कृतिक पहिचान हो।
​आत्मालाई सन्तुष्ट र प्रसन्न राख्न सके देवीदेवतासमेत प्रसन्न भई आशीर्वाद प्रदान गर्ने र यसबाट मानव जीवन सार्थक बन्ने धार्मिक तथा आध्यात्मिक विश्वास रहिआएको छ।

​यस वर्ष प्रतिपदा तिथि दुई दिन (सोमबार र आज) परेका कारण नयाँ वर्ष र म्हः पूजा मनाउने मितिका सम्बन्धमा केही क्षेत्रमा व्यावहारिक भिन्नता देखिएको छ। कतिपय समुदायले सोमबार नै नयाँ वर्ष मनाएको भए पनि अधिकांश नेवार समुदायले आज विधिपूर्वक म्हः पूजा गरी यो पर्व मनाउँदैछन्।

0 reactions0 comments
React

Comments 0

Comments are public and moderated. Don't share phone numbers, emails or ID numbers.

No comments yet. Start a respectful conversation.

    Related updates

    All updates