DigiNepal

डब्लूटीएम: उच्चस्तरीय भेटवार्तामा पर्यटनमन्त्री पौडेल, हवाई सम्पर्क विस्तार र पर्यटन लगानी भित्र्याउनेबारे छलफल

Picture published with this update

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ ले नेपालको पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटक आगमन वृद्धि तथा पर्यटन क्षेत्रमा लगानीका सम्भावना बढाउन विभिन्न मुलुकका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गरेका छन् ।

बेलायतको लन्डनमा नोभेम्बर ३ देखि ५ सम्म आयोजना भइरहेको विश्व पर्यटन बजार (वर्ल्ड ट्राभल मार्केट-डब्ल्यूटीएम) २०२६ मा सहभागी हुने क्रममा मन्त्री पौडेलले भारतका संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्र सिंह शेखावत, संयुक्त अरब इमिरेट्स (यूएई) का अर्थ तथा पर्यटनमन्त्री अब्दुल्लाह बिन तुक अल मारी, श्रीलङ्काका सहायक पर्यटनमन्त्री प्रा. रुवन रणतुङ्गे तथा भारतको राज्यसभा सदस्य, प्रख्यात लेखिका एवं समाजसेवी सुधा मूर्तिसँग विशेष भेटघाट तथा अन्तरक्रिया गरेका हुन् ।

भेटवार्तामा नेपाल र सम्बन्धित मुलुकबीच द्विपक्षीय पर्यटन सहकार्य सुदृढ गर्ने, हवाई सम्पर्क विस्तार गर्ने, पर्यटक आवागमन बढाउने, सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने तथा पर्यटन क्षेत्रमा लगानी र निजी क्षेत्रबीचको सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ ।

भेटका क्रममा मन्त्री पौडेलले नेपालको पर्यटन क्षेत्र अन्तर्राष्ट्रिय साझेदारी, लगानी र सहकार्यका लागि ठूलो सम्भावना बोकेको उल्लेख गर्दै पर्यटनलाई आर्थिक समृद्धि, रोजगारी सिर्जना र सांस्कृतिक सम्बन्ध विस्तारको महत्वपूर्ण माध्यमका रूपमा अघि बढाउनुपर्ने धारणा राखेका थिए ।

उनले भने, “नेपालको पर्यटन प्रवर्द्धनलाई अन्तर्राष्ट्रिय सहकार्यसँग जोड्दै हवाई सम्पर्क विस्तार, पर्यटक आवागमन वृद्धि र पर्यटन क्षेत्रमा लगानीका नयाँ अवसर सिर्जना गर्न सरकार प्रतिबद्ध छ । हाम्रा छिमेकी तथा अन्तर्राष्ट्रिय साझेदार मुलुकसँगको सहकार्यलाई थप परिणाममुखी बनाउँदै नेपाललाई विश्व पर्यटनको आकर्षक, सुरक्षित र प्रतिस्पर्धी गन्तव्यका रूपमा स्थापित गर्ने हाम्रो लक्ष्य हो ।”

त्यसैगरी, नेपालको मौलिक सांस्कृतिक सम्पदा, हिमाली भूगोल, प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन, आध्यात्मिक तथा वेलनेस पर्यटनका विशिष्ट अनुभवलाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने विषयमा समेत छलफल भएको छ ।

डब्ल्यूटीएम लन्डनमा नेपालले यस वर्ष दिगो तथा जिम्मेवार पर्यटन, हिमाली साहसिक गतिविधि, सांस्कृतिक सम्पदा, आध्यात्मिक अनुभव र वेलनेस पर्यटनलाई प्राथमिकताका साथ प्रस्तुत गरेको छ । सन् २०२७ लाई नेपाल वेलनेस पर्यटन वर्षका रूपमा प्रवर्द्धन गर्ने तयारीसँगै योग, ध्यान, आध्यात्मिकता, मानसिक शान्ति र प्राकृतिक उपचारमा आधारित पर्यटन अनुभवलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने नेपालको प्रयासलाई समेत मेलामा विशेष रूपमा जोड दिइएको छ ।

पर्यटनमन्त्री पौडेलको नेतृत्वमा नेपाल पर्यटन बोर्डसहित सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि, वायुसेवा कम्पनी, होटल, ट्राभल तथा टुर अपरेटरसहितको नेपाली टोलीले मेलामा सहभागिता जनाएको छ । मन्त्री पौडेलले नेपाल प्याभिलियनको उद्घाटन गरेका हुन् । मेलामा ३२ नेपाली पर्यटन कम्पनीले स्टल नम्बर एन८-५३० बाट नेपालको पर्यटन सेवा, गन्तव्य र पर्यटकीय उत्पादनको प्रवर्द्धन गरिरहेका छन् ।

विश्वका प्रमुख पर्यटन व्यवसायी, अन्तर्राष्ट्रिय ट्राभल बायर, सञ्चारमाध्यम तथा पर्यटन सेवा प्रदायक सहभागी हुने डब्ल्यूटीएमलाई नेपालले नयाँ बजार खोज्ने, व्यावसायिक साझेदारी विस्तार गर्ने र अन्तर्राष्ट्रिय पर्यटन सञ्जालसँग सम्बन्ध स्थापित गर्ने महत्वपूर्ण अवसरका रूपमा उपयोग गरेको छ ।

यसैबीच, नेपालले हालैका बाढीपहिरोबाट प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनर्निर्माणका प्रयास जारी रहे पनि काठमाडौं, पोखरा, चितवन, लुम्बिनी, अन्नपूर्ण र सगरमाथा क्षेत्रलगायत प्रमुख पर्यटकीय गन्तव्यमा स्थानीय अवस्था तथा यात्रा परामर्शअनुसार पर्यटन गतिविधि सञ्चालन भइरहेको सन्देश अन्तर्राष्ट्रिय बजारमा प्रवाह गरेको छ ।

‘नेपाल खुला छ’ (नेपाल इज ओपन) अभियानमार्फत नेपाल भ्रमणले स्थानीय व्यवसाय, रोजगारी र पर्यटनमा निर्भर समुदायको जीविकोपार्जनमा सहयोग पुग्ने सन्देशसमेत प्रवाह गरिएको छ । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा थप प्रतिस्पर्धी बनाउँदै पर्यटक आगमन, लगानी र व्यावसायिक साझेदारी विस्तार गर्ने उद्देश्यले डब्ल्यूटीएममा गरिएको उच्चस्तरीय सहभागिता र भेटवार्तालाई महत्वपूर्ण मानिएको छ ।

0 reactions0 comments
React

Comments 0

Comments are public and moderated. Don't share phone numbers, emails or ID numbers.

No comments yet. Start a respectful conversation.

    Related updates

    All updates