DigiNepal

बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

नुवाकोटका बाढी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न सञ्चालन गरिएको हैजाविरुद्धको मुखबाट खुवाइने खोप अभियानअन्तर्गत ५० हजार भन्दा बढीले औषधि सेवन गरेका छन् ।

भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीपछि खानेपानी तथा सरसफाइमा चुनौती थपिएसँगै बाढी प्रभावित क्षेत्रमा हैजा फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा सञ्चालन गरिएको खोप कार्यक्रममा ५० हजार ४६७ जनाको सहभागिता रहेको जनस्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अञ्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकामा बसोबाँस गर्दै आएका ७७ हजारभन्दा बढी बासिन्दालाई खोप खुवाउने लक्ष्य राखिएको छ । अभियानअन्तर्गत हालसम्म ५० हजारभन्दा बढीले खोप सेवन गरिसकेको उहाँले जानकारी दिनुभयो ।

“सुरक्षित खानेपानी तथा सरसफाइको चुनौतीका कारण हैजालगायतका महामारी फैलिन नदिन खोप कार्यक्रमलाई अभियानका रूपमा सञ्चालनमा ल्याएका छौँ”, डा कार्कीले भन्नुभयो, “हैजा तथा अन्य पानीजन्य रोगको जोखिमबाट बच्न खोपसँगै सुरक्षित पानीको प्रयोग, साबुनपानीले हात धुने तथा व्यक्तिगत र वातावरणीय सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ ।”

बाढीका कारण नुवाकोट र रसुवाका विभिन्न स्थानमा मानवीय तथा पशुचौपायाको क्षति हुनुका साथै ठूलो सङ्ख्यामा मानिस विस्थापित भएका छन् । बाढी प्रभावित तथा विस्थापितलाई विभिन्न स्थानमा स्थापना गरिएका ‘होल्डिङ सेन्टर’मा राखिएको अवस्थामा खानेपानी तथा सरसफाइको अवस्था चुनौतीपूर्ण बनेकाले हैजाजन्य रोगको जोखिम बढेको स्वास्थ्यकर्मीले बताएका छन् ।

बाढी प्रभावित क्षेत्रमा प्रयोग गरिएको पानीमा ई–कोलाई अर्थात् दिसाजन्य प्रदूषणको सूचक जीवाणु भेटिएपछि पानीजन्य रोगको जोखिम थप बढेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । सोही कारण जोखिमयुक्त क्षेत्रमा रोगको प्रकोप नियन्त्रण तथा रोकथामका लागि आपत्कालीन रूपमा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिएको हो ।

जनस्वास्थ्य कार्यालयका अनुसार जन्मेको एक वर्ष पूरा भएका सबै व्यक्तिलाई खोप उपलब्ध गराउने व्यवस्था गरिएको छ । खोप सुरक्षित र प्रभावकारी रहेकाले लक्षित सबैलाई निर्धक्क भएर खोप सेवन गर्न कार्यालयले अनुरोध गरेको छ ।

हैजाको सङ्क्रमण हुँदा कडा किसिमको जलवियोजन (डि–हाइड्रेसन) भएर ज्यानसमेत जान सक्ने भएकाले बाढी प्रभावित क्षेत्रमा सरकारले विशेष अभियानका रुपमा खोप कार्यक्रम सञ्चालन गरेको हो । उक्त खोप बाढी प्रभावित क्षेत्रका स्वास्थ्य संस्था र सबै होल्डिङ सेन्टरमा निःशुल्क उपलब्ध गराइएको छ ।

जनस्वास्थ्य कार्यालयले अभियानलाई लक्ष्यअनुसार प्रभावकारी बनाउन सार्वजनिक बिदाका दिनसमेत खोप उपलब्ध गराउने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ । कडा किसिमको झाडापखाला हैजामा परिणत हुनसक्ने भएकाले झाडापखालालगायतका लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा पुगेर जाँच तथा उपचार गराउन जनस्वास्थ्य प्रशासक डा कार्कीले आग्रह गर्नुभयो ।

हैजाको जोखिम उच्च रहेको विदुरवासी ५९ हजार २५४ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ । हालसम्म नगरपालिकाभित्र ४० हजार २९१ जनाले खोप लगाएको तथ्याङ्क रहेको स्वास्थ्य शाखाले जनाएको छ । विदुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामराजा भण्डारीले खोप लगाउन बाँकी रहेका बासिन्दालाई नजिकैको स्वास्थ्य सँस्थामा पुगेर खोप लगाउन आग्रह गर्नुभयो ।

“खोप कार्यक्रम सातै दिन सञ्चालन भइरहेको छ । नगरपालिकाका सबै स्वास्थ्य संस्थाका साथै बाढी प्रभावितलाई राखिएका होल्डिङ सेन्टरमा समेत खोप उपलब्ध गराइएको छ”, उहाँले भन्नुभयो, “जोखिमलाई ध्यानमा राखेर लक्षित सबै नागरिकले खोप सेवन गर्नु अहिलेका लागि अत्यावश्यक रहेको छ ।”

गत भदौ १० को बाढीपश्चात् माहामारीजन्य रोगको सक्रमण हुन र फैलन नदिन स्वास्थ्यकर्मीले खोप लगाएसँगै उमालेर वा शुद्धीकरण गरेर सुरक्षित पानी पिउने, साबुनपानीले नियमित हात धुने, खाना सफा राख्ने तथा घर, टोल र आसपासको वातावरण सफा राख्न आग्रह गरेका छन् ।

0 reactions0 comments
React

Comments 0

Comments are public and moderated. Don't share phone numbers, emails or ID numbers.

No comments yet. Start a respectful conversation.

    Related updates

    All updates