Official update

मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

२ मंसिर २०८३2 Mangsir 2083

Issued by

Office of the Prime Minister and Council of Ministers

More from this department

काठमाडौँ, २ मङ्सिरः महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले फिलिपिन्सको मनिलामा आयोजित बालबालिकामाथि हुने हिंसा अन्त्यसम्बन्धी दोस्रो विश्व मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै नेपालको तर्फबाट सातबुँदे राष्ट्रिय प्रतिबद्धता प्रस्तुत गर्नुभएको छ ।

नेपालका तर्फबाट तीनवटा अद्यावधिक, तीनवटा नयाँ र एउटा पुनः पुष्टि गरिएको समेत गरी सात वटा प्रतिबद्धता प्रस्तुत गरिएको छ ।

सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बादीले बालबालिकाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न नेपालले कानुनी, नीतिगत तथा संस्थागत सुधारका प्रयासलाई निरन्तरता दिँदै आएको जानकारी मन्त्रालयले दिएको छ ।

उहाँले सन् २०२८ सम्म अनलाइन दुव्र्यवहारलगायत बालबालिकाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्नका लागि कानुनी तथा नीतिगत पक्षसहितको राष्ट्रिय मापदण्डलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैगरी, सन् २०३० सम्म देशका ७५३ वटै स्थानीय तहमा बाल संरक्षण संयन्त्र स्थापना गरी जोखिममा रहेका प्रत्येक बालबालिकालाई सहज र एकीकृत सेवा उपलब्ध गराउने नेपालको लक्ष्य रहेको बताउनुभयो ।

बाल संरक्षणसम्बन्धी नीति तथा कार्यक्रमलाई तथ्यमा आधारित बनाउन विभिन्न समूहअनुसार खण्डीकृत तथ्याङ्क समेट्ने एकीकृत बाल संरक्षण सूचना प्रणाली सुदृढ गर्ने र प्रभावकारी स्रोत विनियोजन तथा जवाफदेहिता सुनिश्चित गर्ने प्रतिबद्धता पनि मन्त्री बादीले व्यक्त गर्नुभयो ।

उहाँले बालबालिकाविरुद्ध हुने हिंसाको रोकथाम तथा सम्बोधनका लागि सरकारका तीनै तह र सम्बन्धित क्षेत्रबीच समन्वय सुदृढ गर्ने, बाल हेरचाह प्रणालीमा सुधार गर्दै परिवारमा आधारित हेरचाहलाई प्राथमिकता दिने तथा जोखिममा रहेका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने विषय नेपालको प्राथमिकतामा रहेको बताउनुभयो ।

यसैगरी, बालविवाह रोकथामका लागि बहुक्षेत्रीय प्रयास तीव्र बनाउने र बालविवाहबाट प्रभावित व्यक्तिका लागि समग्र सहयोग सुनिश्चित गर्ने प्रतिबद्धता प्रस्तुत गर्नुभयो ।

मनिला सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बादीले सन् २०३० सम्ममा प्रत्येक विद्यालयमा बाल संरक्षणसम्बन्धी मापदण्ड तथा बालमैत्री उजुरी र सूचना दिने संयन्त्र लागू गर्ने तथा विद्यालयभित्र एवं वरपर हुने हिंसा कम्तीमा ५० प्रतिशतले घटाउने लक्ष्यका साथ नेपाल अघि बढिरहेको बताउनुभयो । ।

सामाजिक सुरक्षा मन्त्रालयका अनुसार नेपालका तर्फबाट प्रस्तुत सात प्रतिबद्धताले बाल संरक्षणलाई कानुनी सुधारमा मात्र सीमित नराखी स्थानीय तहको सेवा प्रवाह, परिवारमा आधारित हेरचाह, बालविवाह रोकथाम, विद्यालयको सुरक्षा, तथ्याङ्क व्यवस्थापन र अन्तरसरकारी समन्वयसँग जोडेको छ ।

Source: National Portal of Nepal

DigiNepal mirrors public notices for easier reading. DigiNepal is independent and is not affiliated with or endorsed by the publisher. Check the original source for the official record.

0 comments
Press the up arrow for more reactions.

No comments yet.

    Sign in to react, comment or save this update.

    Comments are public and moderated. Don’t share phone numbers, emails or ID numbers.

    Related updates