Official update

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय बाढी तथा मानवीय संकटसम्बन्धी दैनिक कार्य अपडेट

३० भदौ २०८३30 Bhadra 20831 file

Issued by

Ministry of Women, Children, Gender and Sexual Minorities and Social Security

More from this department

भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको अस्थायी संरक्षणका लागि ललितपुरको गोदावरी नगरपालिका–ठेचोमा निर्माण भइरहेको संरक्षण केन्द्र सञ्चालनको तयारी तीव्र पारिएको छ। यसैबीच, विपद् प्रभावित क्षेत्रमा राहत तथा मानवीय सहायता परिचालनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट ६२ करोड रुपैयाँभन्दा बढी बराबरको सहयोग परिचालन भएको छ।

ठेचोस्थित अस्थायी संरक्षण केन्द्रमा सरसफाइ, भान्छा निर्माण तथा टायल लगाउने काम भइरहेको छ। केन्द्रमा CCTV तथा मनिटर जडान सम्पन्न भएको छ भने ब्लक ‘ए’ मा पुरानो जस्ता हटाएर पारदर्शी जस्ता राख्ने कामसमेत पूरा भएको छ। केन्द्रमा कार्यालयको बोर्डसमेत जडान गरिएको छ।

समाज कल्याण परिषद्बाट प्राप्त विवरणअनुसार हालसम्म ५९ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले रु. ४२ करोड २० लाख ६५ हजार ६७ बराबरका राहत सामग्री उपलब्ध गराएका छन्। ती संस्थाले थप रु. ४ करोड ६४ लाख २ हजार ६६९ नगद प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन्।

त्यस्तै, ३९ वटा राष्ट्रिय गैरसरकारी संस्थाले रु. १९ करोड ८२ हजार ३७३ बराबरको सहयोग परिचालन गरेका छन्। राष्ट्रिय गैरसरकारी संस्थाबाट थप रु. ४ करोड १ लाख ३४ हजार ३७३ नगद प्रधानमन्त्री राहत कोषमा जम्मा भएको छ।

यसरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट मात्रै राहत सामग्री र नगद गरी करिब ७० करोड रुपैयाँ बराबरको स्रोत परिचालन भएको देखिएको छ। विपद् प्रभावित क्षेत्रमा राहत, संरक्षण तथा पुनर्स्थापनाका लागि सरकारी निकाय, स्थानीय तह, गैरसरकारी संस्था तथा विकास साझेदारबीचको समन्वयलाई थप प्रभावकारी बनाउँदै लगिएको छ।

भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको तत्कालीन सुरक्षा र संरक्षणलाई प्राथमिकतामा राख्दै ठेचोमा तयार भइरहेको केन्द्रमार्फत सुरक्षित आवास, संरक्षण तथा आवश्यक सेवाको व्यवस्था गर्ने तयारी गरिएको छ।

Attachments

Source: National Portal of Nepal

DigiNepal mirrors public notices for easier reading. DigiNepal is independent and is not affiliated with or endorsed by the publisher. Check the original source for the official record.

Related updates