Official update

जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ: शिक्षामन्त्री पोखरेल

२९ कार्तिक २०८३29 Kartik 2083

Issued by

Office of the Prime Minister and Council of Ministers

More from this department

काठमाडौँ, २९ कात्तिक: शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न भौतिक पूर्वाधारको पुन:संरचनासँगै विद्यालय तहको पाठ्यक्रममै जलवायु शिक्षालाई अनिवार्य रूपमा समावेश गर्ने प्रक्रिया अघि बढाइएको बताउनुभएको छ ।

टर्कीयको अन्ताल्यामा आयोजित जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप-३१) अन्तर्गत ‘एन्टाल्या कार्ययोजना प्रोटोकल: हरित शिक्षाको केन्द्रमा बालबालिका, युवा र शिक्षकहरू’ विषयक उच्चस्तरीय मन्त्रीस्तरीय उद्घाटनसत्रको समूहगत छलफलमा सहभागी हुँदै मन्त्री पोखरेलले नेपालले शिक्षा प्रणालीमार्फत जलवायु अनुकूलनको दीर्घकालीन आधार तयार पारिरहेको जानकारी दिनुभएको हो ।

छलफलका क्रममा मन्त्री पोखरेलले जलवायु सङ्कटका कारण शैक्षिक क्षेत्र दोहोरो मारमा परेको विश्लेषण प्रस्तुत गर्नुभएको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ । एकातर्फ हिमालमा हिमताल विस्फोट, पहाडमा पहिरो तथा तराईमा बाढी र अत्यधिक तापक्रम (हिट वेभ) का कारण पठनपाठन अवरुद्ध भइरहेको छ भने अर्कातर्फ विगतमा विपद् जोखिम मूल्याङ्कन नगरी बनाइएका भौतिक संरचना असुरक्षित बनेको उहाँले उल्लेख गर्नुभयो ।

केही महिनाअघि नेपालमा नदीको सतह सामान्य उचाइभन्दा निकै माथिसम्म पुगी केही सेकेन्डभित्रै बस्तीसहित विद्यालय भवनमा क्षति पुगेको उदाहरण दिँदै उहाँले अब यी कुराहरूको मूल्याङ्कनमा आधारित पूर्वाधार विकास अपरिहार्य भएको बताउनुभयो ।

यसै सन्दर्भमा काठमाडौँ महानगरपालिकाका ९० वटा विद्यालयमा गरिएको सफल परीक्षण (पाइलट प्रोजेक्ट) को सिकाइका आधारमा हाल देशभरका करिब २७ हजार सामुदायिक विद्यालयको भौतिक संरचना, विपद् जोखिम र राष्ट्रिय भवन संहिताअनुसार न्यूनतम ६० प्रतिशत खुला क्षेत्र भए/नभएको विस्तृत अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयो ।

उक्त अध्ययनपछि बन्ने गुरुयोजना (मास्टर प्लान) ले सुरक्षित विद्यालय निर्माण गर्नुका साथै राज्यको स्रोतसाधनको दिगो व्यवस्थापन गर्ने उहाँको भनाइ थियो । जलवायु परिवर्तनको दीर्घकालीन प्रभावबाट विश्वका कुनै पनि सभ्यता अछुतो नरहने भएकाले वैचारिक विभाजनभन्दा माथि उठेर शैक्षिक र वैज्ञानिक सहकार्यमार्फत विश्व समुदाय एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

Source: National Portal of Nepal

DigiNepal mirrors public notices for easier reading. DigiNepal is independent and is not affiliated with or endorsed by the publisher. Check the original source for the official record.

0 comments
Press the up arrow for more reactions.

No comments yet.

    Sign in to react, comment or save this update.

    Comments are public and moderated. Don’t share phone numbers, emails or ID numbers.

    Related updates