एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
२९ कार्तिक २०८३29 Kartik 2083
Office of the Prime Minister and Council of Ministers
More from this departmentगण्डकी, २९ कात्तिक: गत अक्टुबरमा ४१ हजार ७५८ जना विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । जुन गत वर्षको सोही महिनाको तुलनामा चार हजार ६८२ ले बढी हो ।
गत वर्षको अक्टुबरमा ३७ हजार ७६ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए । मुख्य पर्यटकीय याम भएकाले अक्टुबरमा बढी पर्यटक आउने गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले बताउनुभयो ।
एक महिनाको अवधिमा भित्रिएका कुल ४१ हजार ७५८ पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका १९ हजार २०७ र बाँकी अन्य देशका पर्यटक रहेका छन् । सन् २०२६ सुरु भएयता सबैभन्दा बढी गत जुनमा एक लाख आठ हजार ७०३ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका प्रमुख डा कडरियाले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त याममा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् । दश महिनाको अवधिमा सबैभन्दा कम जनवरीमा २० हजार ६३ पर्यटक भित्रिएका उहाँको भनाइ छ । “अक्टुबर-नोभेम्बर मुख्य पर्यटकीय याम भएकाले यतिबेला पर्यटकको सङ्ख्या बढ्ने गर्छ”, उहाँले भन्नुभयो । आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा भ्रमण गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ ।
सडक मार्ग भएर बर्सेनि ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रने गरेका छन् । अन्नपूर्ण क्षेत्र पदयात्रा रूचाउने पर्यटककोसमेत रोजाइमा पर्दै आएको छ । संरक्षण क्षेत्रमा पर्ने अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोडेपानीलगायत गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।
सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सुन्दरता, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको हो । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा तय गर्न सकिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन् ।
Source: National Portal of Nepal
DigiNepal mirrors public notices for easier reading. DigiNepal is independent and is not affiliated with or endorsed by the publisher. Check the original source for the official record.
Comments are public and moderated. Don’t share phone numbers, emails or ID numbers.
No comments yet.
Sign in to react, comment or save this update.