Official update

बाढीपछिको पुनर्निर्माण र जलवायु अनुकूलनमा सहयोग बढाउन एडिबीसँग आग्रह

१ मंसिर २०८३1 Mangsir 2083

Issued by

Office of the Prime Minister and Council of Ministers

More from this department

नेपालले गत अगस्ट २६ को बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण, जलवायु उत्थानशील पूर्वाधार निर्माण तथा अनुकूलनका कार्यक्रमका लागि एसियाली विकास बैंक (एडिबी) लाई सहयोग बढाउन आग्रह गरेको छ ।

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको क्षति र पुनःनिर्माणका चुनौतीलाई सम्बोधन गर्न एडिबीको थप साझेदारी आवश्यक रहेको बताउनुभएको हो ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) का अवसरमा सोमबार एडिबीका उपाध्यक्षलगायतसँग भएको द्विपक्षीय भेटवार्तामा उहाँले भोटेकोशी करिडोरको पुनर्निर्माणमा एडिबीको सहयोग अपेक्षित रहेको उल्लेख गर्नुभयो ।

मन्त्री चौधरीले भोटेकोशी बाढीले बस्ती, सडक, पुल, जैविक विविधता तथा सांस्कृतिक सम्पदामा ठूलो क्षति पु¥याएको उल्लेख गर्दै पुनर्लाभका लागि करिब पाँच अर्ब अमेरिकी डलर आवश्यकपर्ने अनुमान गरिएको जानकारी दिनुभयो । उहाँले उक्त विपद् जलवायु परिवर्तनबाट सिर्जित हानि तथा नोक्सानीको गम्भीर उदाहरण भएको बताउनुभयो ।

हानि तथा नोक्सानी प्रतिकार्य कोषबाट नेपालले प्राप्त गरेको दुई करोड अमेरिकी डलर सहयोगप्रति आभार व्यक्त गर्दै उहाँले पुनर्निर्माणका क्रममा जलवायु उत्थानशील पूर्वाधार, सुरक्षित पुनर्वास, जीविकोपार्जनका अवसर तथा पूर्वसूचना प्रणालीको विकासमा एडिबीको साझेदारी आवश्यक रहेको बताउनुभयो ।

नेपाल अतिकम विकसित मुलुक (एलडिसी) बाट स्तरोन्नति हुने प्रक्रियामा रहेको सन्दर्भ उल्लेख गर्दै मन्त्री चौधरीले अनुकूलन र पुनर्लाभका लागि अनुदानमा आधारित वित्तीय स्रोतको महत्व रहेको स्पष्ट पार्नुभयो । उहाँले एडिबीलाई सम्भव भएसम्म अनुदान सहयोग वृद्धि गर्न तथा सहयोग परिचालनका प्रक्रिया सरल र छिटो बनाउन आग्रह गर्नुभयो ।

हरित तथा उत्थानशील वित्त सुविधा (ग्रिन एन्ड रिजिलियन्स फाइनान्सिङ फ्यासिलिटी) को अवधारणा तथा डिजाइनमा एडिबीले गरेको नेतृत्वको प्रशंसा गर्दै उहाँले स्थानीय समुदायको नेतृत्वमा सञ्चालन हुने अनुकूलन कार्यक्रमका लागि अनुदानको व्यवस्था गर्दै उक्त सुविधा शीघ्र स्वीकृत गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री चौधरीले नेपालको पर्वतीय लचिलोपन रणनीति तथा लगानी ढाँचा ‘लिभिङ सगरमाथा’ कार्यान्वयनमा साझेदारी गर्न पनि एडिबीलाई आमन्त्रण गर्नुभयो ।

नेपाल, भुटान र कीर्गिज गणतन्त्रले कोप–३१ मा पर्वतीय मुद्दालाई प्राथमिकताका साथ उठाइरहेको उल्लेख गर्दै उहाँले पर्वतीय क्षेत्रको उत्थानशीलताका लागि एडिबीको निरन्तर नेतृत्वको स्वागत गर्नुभयो ।

उहाँले नेपाल जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा एक दशमलव पाँच डिग्री सेल्सियस तापक्रम सीमाको लक्ष्यप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

भेटमा मन्त्री चौधरीले कोप–३१ मा नेपालको प्याभिलियन सञ्चालनका लागि एडिबीले गरेको सहयोगको प्रशंसा गर्नुभयो । उक्त सहयोगले सरकार, विकास साझेदार, नागरिक समाज, प्रदेश तथा स्थानीय सरकार, समुदाय र युवालाई सहभागी गराउँदै ५० भन्दा बढी कार्यक्रममार्फत नेपालको जलवायु प्राथमिकता अन्तरराष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गरेको उहाँको भनाइ थियो ।

नेपालको विकास यात्रामा एडिबीले लामो समयदेखि प्रदान गर्दै आएको सहुलियतपूर्ण सहयोगप्रति आभार व्यक्त गर्दै मन्त्री चौधरीले कोप–३१ पछि अर्थ मन्त्रालय र एडिबीको नेपाल आवासीय मिसनसहित सम्बन्धित टोलीबीच छलफल गरी प्रस्तावित सहयोगका विषयलाई अगाडि बढाउन आग्रह गर्नुभयो ।

कोप–३१ टर्कीको अन्ताल्यामा यही नोभेम्बर ९ देखि २० सम्म सञ्चालन भइरहेको छ ।

Source: National Portal of Nepal

DigiNepal mirrors public notices for easier reading. DigiNepal is independent and is not affiliated with or endorsed by the publisher. Check the original source for the official record.

0 comments
Press the up arrow for more reactions.

No comments yet.

    Sign in to react, comment or save this update.

    Comments are public and moderated. Don’t share phone numbers, emails or ID numbers.

    Related updates