चार दिनदेखिको अविरल वर्षा आजबाट क्रमशः कमजोर हुने प्रक्षेपण
११ असोज २०८३11 Asoj 2083
Office of the Prime Minister and Council of Ministers
More from this departmentकाठमाडौं । विगत चार दिनदेखि जारी अविरल वर्षा आजबाट क्रमशः कमजोर हुँदै जाने भएको छ। मौसमविद् विनोद पोखरेलका अनुसार आज (आइतबार) दिउँसोसम्म देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे तापनि भारी वर्षाको जोखिम भने लगभग अन्त्य भएको छ।
पछिल्लो चार दिनको अवधिमा नवलपरासीको बर्दघाट क्षेत्रमा ३०० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको मौसमविद् पोखरेलले जानकारी दिएका छन्। जल तथा मौसम विज्ञान विभागको पछिल्लो २४ घण्टा र सात दिनको मौसमी तथ्याङ्कले पनि यस अवधिमा देशभर उल्लेख्य मात्रामा वर्षा भएको देखाएको छ।
यसपटक समयमै जारी गरिएको भारी वर्षाको पूर्वसूचना, सम्बन्धित सबै सरकारी तथा गैरसरकारी निकायहरूको चुस्त समन्वय र सक्रियताका कारण सम्भावित ठूलो दुर्घटना टरेको छ। प्रभावकारी पूर्वतयारीकै कारण जनधनको क्षति उल्लेख्य रूपमा न्यूनीकरण गर्न सकिएको पोखरेलले बताए।
भारी वर्षाको सम्भावना टरे तापनि बाढी, पहिरो र डुबानको जोखिम पूर्ण रूपमा हटिनसकेको हुँदा आगामी दिनमा पनि आवश्यक सतर्कता अपनाउन र सुरक्षित रहन सर्वसाधारणलाई आग्रह गरिएको छ।
Source: National Portal of Nepal
DigiNepal mirrors public notices for easier reading. DigiNepal is independent and is not affiliated with or endorsed by the publisher. Check the original source for the official record.