स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न नयाँ कार्यविधि
२१ असोज २०८३21 Asoj 20831 PDF
Ministry of Women, Children, Gender and Sexual Minorities and Social Security
More from this departmentमहिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहमा ज्येष्ठ नागरिकको हेरचाह, स्वास्थ्य, सामाजिक सहभागिता र सम्मानजनक जीवनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन/स्थापना सम्बन्धी कार्यविधि, २०८३’ तयार गरेको छ।
कार्यविधिअनुसार स्थानीय तहमा सञ्चालन हुने ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रले घरमा एक्लोपन महसुस गरिरहेका वा हेरचाह आवश्यक भएका ज्येष्ठ नागरिकलाई दिनको समयमा भेटघाट, सामाजिक घुलमिल, मनोरञ्जन, स्वास्थ्य सेवा तथा परामर्शको अवसर उपलब्ध गराउनेछ।
दिवा सेवा केन्द्रलाई कम्तीमा हप्ताको पाँच दिन सञ्चालनमा राख्नुपर्ने व्यवस्था गरिएको छ। केन्द्रहरू ज्येष्ठ नागरिकमैत्री हुनुपर्ने र शौचालय, भान्सा, र्याम्प, आवतजावत गर्ने स्थानमा समाउने रेलिङ तथा आवश्यक अन्य संरचना व्यवस्थित गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।
ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षालाई समेत कार्यक्रममा प्राथमिकता दिइएको छ। उनीहरूको स्वास्थ्य उपचारका लागि कम्तीमा महिनामा एकपटक सरकारी, निजी वा सामुदायिक अस्पतालका चिकित्सकमार्फत स्वास्थ्य परीक्षण गराउने, आवश्यक औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराउन सहयोग गर्ने र आवश्यकताअनुसार स्वास्थ्यलगायत अन्य परामर्श सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ।
दिवा सेवा केन्द्रमा ज्येष्ठ नागरिकका लागि स्वच्छ खाजा तथा तातो–चिसो पिउने पानीको व्यवस्था गर्नुपर्नेछ। सेवा लिने ज्येष्ठ नागरिकको इच्छाअनुसार कम्तीमा तीन महिनामा एकपटक धार्मिक तथा सांस्कृतिक स्थल, पार्क, वनभोज वा अन्य मनोरञ्जनात्मक गतिविधिमा सहभागी गराउन सकिने व्यवस्था पनि कार्यविधिमा समेटिएको छ।
कार्यविधिले ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप र जीवनअनुभवलाई नयाँ पुस्तासँग हस्तान्तरण गर्ने विषयलाई विशेष प्राथमिकता दिएको छ। यसका लागि प्रवचन, अन्तरक्रिया तथा अनुभव आदानप्रदानका कार्यक्रम सञ्चालन गरी अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ। यसबाट पुस्ताबीचको दूरी कम गर्दै ज्येष्ठ नागरिकको अनुभवलाई समाजको उपयोगी स्रोतका रूपमा स्थापित गर्ने मन्त्रालयको लक्ष्य छ।
त्यस्तै, ज्येष्ठ नागरिकले आफूसँग रहेको सीप प्रयोग गरी कुनै सामग्री उत्पादन, निर्माण वा बिक्री वितरण गर्न चाहेमा त्यसका लागि आवश्यक सहजीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ। सक्रिय बुढ्यौली र उद्यमशीलता प्रवर्द्धन गर्ने वातावरण सिर्जना गर्नु पनि कार्यक्रमको उद्देश्यमा समेटिएको छ।
ज्येष्ठ नागरिकलाई उनीहरूको इच्छाविपरीत कुनै कार्यक्रममा सहभागी गराउन नपाइने स्पष्ट व्यवस्था गरिएको छ। केन्द्र सञ्चालनका क्रममा ज्येष्ठ नागरिकको गरिमा, सुरक्षा र स्वेच्छालाई प्राथमिकतामा राख्नुपर्नेछ।
कार्यक्रम संघीय सरकारबाट स्थानीय तहमा उपलब्ध गराइने सशर्त अनुदानमार्फत सञ्चालन गरिनेछ। अनुदान रकम सम्बन्धित आर्थिक वर्षभित्र खर्च नभए बाँकी रकम संघीय सञ्चित कोषमा फिर्ता गर्नुपर्ने व्यवस्था छ।
कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन संघीय, प्रदेश तथा स्थानीय सरकारका सम्बन्धित निकायबाट गर्न सकिनेछ। स्थानीय तहले आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र कार्यक्रमको भौतिक तथा वित्तीय प्रगति, लाभान्वित ज्येष्ठ नागरिकको विवरण, मुख्य उपलब्धि, समस्या, चुनौती तथा सुझावसहितको प्रतिवेदन मन्त्रालयमा पठाउनुपर्नेछ।
यस कार्यविधिमार्फत स्थानीय तहमा ज्येष्ठ नागरिकका लागि केवल बस्ने वा भेटघाट गर्ने केन्द्र मात्र नभई स्वास्थ्य, सामाजिक सहभागिता, मनोरञ्जन, सीप, अनुभव हस्तान्तरण र सक्रिय बुढ्यौलीलाई जोड्ने बहुआयामिक दिवा सेवा केन्द्र विकास गर्ने आधार तयार भएको छ।
mowcsc.gov.np/content/434/procedures-for-operation-establishment-of-day-service-center/
स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनस्थापना सम्बन्धी कार्यविधि, २०८३.pdf
OpenDownload





Attachments
Source: National Portal of Nepal
DigiNepal mirrors public notices for easier reading. DigiNepal is independent and is not affiliated with or endorsed by the publisher. Check the original source for the official record.
Comments are public and moderated. Don’t share phone numbers, emails or ID numbers.

No comments yet.
Sign in to react, comment or save this update.