सरकारले सञ्चालन गर्दै 'सीप तथा रोजगार मेला': कृषि, अटाेमाेबाइल, आइटी देखि एआई तालीम र रोजगारीको ग्यारेन्टी
२९ भदौ २०८३29 Bhadra 2083
Office of the Prime Minister and Council of Ministers
More from this departmentकाठमाडौँ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले निजी क्षेत्रको सहकार्यमा आन्तरिक रोजगारी सिर्जना गर्न र सीपमूलक तालिमलाई प्रत्यक्ष रोजगारीसँग जोड्न 'सीप तथा रोजगार मेला' सञ्चालन गर्ने तयारी थालेको छ।
मन्त्रालय, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) तथा निजी क्षेत्रका प्रतिनिधिहरूबिच आन्तरिक रोजगारी प्रवर्द्धन र श्रम बजार व्यवस्थित गराउन आज एक बृहत् छलफल गरिएको छ।
मन्त्रालयले "रोजगार प्रवर्द्धन दशक ०८३/८४-९२/९३" लाई सफल बनाउन काेशी प्रदेशको इटहरीबाट 'सीप तथा रोजगार मेला' सुरु गर्ने निर्णय गरेको हो। यो मेलालाई प्रभावकारी रूपमा युवा जनशक्तिलाई सिप तथा रोजगारमा जोड्न देशका सातै प्रदेशमा विस्तार गरिनेछ।
मन्त्रालयको टोलीले इटहरीमा गई त्यहाँका सरोकारवाला पक्षहरूसँग 'सीप तथा रोजगार मेला'का विषयमा बृहत् छलफल गरेको छ । सरोकारवालाहरूले निकै उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रिया दिनुभएको छ।
मेला केवल औपचारिकतामा सीमित नभई रोजगारदातालाई आवश्यक वास्तविक श्रमिकको माग र कार्यस्थलमा आधारित तालिम दिएर सोझै रोजगारीमा जोड्ने लक्ष्य राखिएको छ।
मन्त्रालय र निजी क्षेत्रको सहकार्यमा आयोजना गर्न लागिएको यो मेलामा कृषि, अटाेमाेबाइल, एआई र डिजिटल सीप लगायतका तालिम उपलब्ध गराउने लक्ष्य राखिएको छ।
यस छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले 'सिप तथा रोजगार मेला' सफल बनाउन आफूहरू सकारात्मक रहेको र यसमा आवश्यक सहकार्य गर्ने धारण व्यक्त गर्नुभएको थियो।
मन्त्रालयले उद्योग तथा व्यवसायीहरूलाई आगामी ५/६ महिनामा आफूलाई कति र कुन स्तरको जनशक्ति आवश्यक पर्छ भन्ने माग स्पष्ट रूपमा दिन आग्रह गरेको छ, ती मागकै आधारमा सीप तथा तालिम प्रदान गर्न मन्त्रालय तयार रहेको छलफलमा बताइएको छ।
छलफलमा बोल्दै युवा श्रम तथा रोजगार मन्त्रालयका माननीय मन्त्री रामजी यादवले सरकारको उद्देश्य आन्तरिक रोजगारीलाई मर्यादित बनाउँदै धेरै भन्दा धेरै युवा जनशक्तिलाई रोजगारी दिनु रहेको बताउनु भयो।
Source: National Portal of Nepal
DigiNepal mirrors public notices for easier reading. DigiNepal is independent and is not affiliated with or endorsed by the publisher. Check the original source for the official record.