रसुवागढी नाका अवरुद्ध भएपछि चीनको सीमावर्ती जिल्लाका वैकल्पिक नाकाबाट यात्रुको आवागमन
२९ भदौ २०८३29 Bhadra 2083
Office of the Prime Minister and Council of Ministers
More from this department२०८३ भाद्र १० गते रसुवा जिल्लामा आएको भीषण बाढीका कारण रसुवागढी नाकास्थित अध्यागमन कार्यालयलगायतका संरचनामा क्षति पुगेपछि उक्त नाका हुँदै हुने यात्रु आवागमन प्रभावित भएको छ। सोपश्चात् रसुवागढी नाका हुँदै चीन प्रस्थान गरेका तथा चीनको तिब्बत क्षेत्रमा भ्रमण गरी नेपाल फर्किएका यात्रुहरूले वैकल्पिक रूपमा सिन्धुपाल्चोकको कोदारी (तातोपानी) र हुम्लाको हिल्सा नाका प्रयोग गरेको देखिएको छ।
विशेषगरी तिब्बतको कैलाश–मानसरोवर यात्रा तथा अन्य भ्रमणका लागि चीन प्रस्थान गरेका यात्रुहरू नेपाल फर्कने क्रममा तातोपानी र हिल्सा नाकाबाट प्रवेश गरेको पाइएको छ। साथै, चीन प्रस्थान गर्ने यात्रुहरूले समेत यी वैकल्पिक नाकाहरू प्रयोग गर्दै आएका छन्।
रसुवागढी नाका अवरुद्ध भएको मिति २०८३ भाद्र १० देखि २०८३ साल भाद्र २९ सम्मको अवधिमा सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै जम्मा ३,९०४ जना यात्रु नेपाल प्रवेश गरेका छन्, जसमध्ये १,७३३ जना महिला रहेका छन्। सोही अवधिमा ३९१ जना यात्रु तातोपानी नाका हुँदै चीनतर्फ प्रस्थान गरेका छन्।
यसैगरी, सोही अवधिमा हुम्लाको हिल्सा नाका हुँदै जम्मा ३८७ जना यात्रु नेपाल प्रवेश गरेका छन्। नेपाल प्रवेश गरेका यात्रुमध्ये १६५ जना रसुवागढी नाका हुँदै चीन प्रस्थान गरेका यात्रुहरू रहेको देखिएको छ। सोही अवधिमा हिल्सा नाका हुँदै जम्मा १७८ जना यात्रु चीनतर्फ प्रस्थान गरेका छन्। यी दुवै वैकल्पिक नाकाबाट आगमन/प्रस्थान गर्ने विदेशी यात्रुहरुमा सबैभन्दा बढी भारत, वेलायत र संयुक्त राज्य अमेरिकाका नागरिकहरु रहेका छन्।
उल्लिखित तथ्याङ्कले रसुवागढी नाका अवरुद्ध भएपछि चीनसँगको यात्रु आवागमनका लागि तातोपानी र हिल्सा नाका वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको अवस्था देखाउँछ। अध्यागमन विभागले यात्रुहरूको सहज आवागमन तथा अध्यागमन व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गर्दै आएको छ।
मितिः २०८३ भाद्र २९
टीकाराम ढकाल
निर्देशक एवम् प्रवक्ता
अध्यागमन विभाग
Source: National Portal of Nepal
DigiNepal mirrors public notices for easier reading. DigiNepal is independent and is not affiliated with or endorsed by the publisher. Check the original source for the official record.