परराष्ट्रमन्त्री खनाल र राष्ट्रसंघीय ८१औँ महासभाका अध्यक्ष डा. रहमानबीच भेटवार्ता, जलवायु विपदबारे छलफल
१३ असोज २०८३13 Asoj 2083
Office of the Prime Minister and Council of Ministers
More from this departmentन्युयोर्क। परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अध्यक्ष डा. खलिलुर रहमानबीच द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री खनालले न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा अध्यक्ष डा. रहमानसँग भेटवार्ता गर्नुभयो ।
भेटका क्रममा मन्त्री खनालले डा. रहमानलाई महासभाको अध्यक्ष पद सम्हालेकोमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। सो अवसरमा उहाँले राष्ट्रसंघका साझा लक्ष्यहरू हासिल गर्न नेपालका तर्फबाट पूर्ण सहयोग र सहकार्य रहने प्रतिबद्धता समेत जनाउनुभयो।
वार्ताका क्रममा महासभाका अध्यक्षका भावी प्राथमिकतासहित विश्वव्यापी चासोका विविध विषयमा गहन छलफल भएको थियो। दुवै पक्षबीच संयुक्त राष्ट्रसंघलाई केन्द्रमा राख्दै बहुपक्षीयतालाई थप सुदृढ, समावेशी र प्रभावकारी बनाउनुपर्ने महत्त्वमा विशेष जोड दिइएको छ।
यसैगरी, भेटमा नेपालमा हालै आएको विनाशकारी जलवायुजन्य विपद् र त्यसले पुर्याएको ठूलो भौतिक तथा सामाजिक क्षतिबारे समेत चर्चा गरिएको थियो। परराष्ट्रमन्त्री खनालले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालजस्ता विकासोन्मुख देशहरूका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा राष्ट्रसंघको भूमिका र सहयोग अपरिहार्य रहेको विषयमा जोड दिनुभयो।
Source: National Portal of Nepal
DigiNepal mirrors public notices for easier reading. DigiNepal is independent and is not affiliated with or endorsed by the publisher. Check the original source for the official record.