Official update

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय बाढी तथा मानवीय संकटसम्बन्धी दैनिक कार्य अपडेट

२७ भदौ २०८३27 Bhadra 20831 file

Issued by

Ministry of Women, Children, Gender and Sexual Minorities and Social Security

More from this department

भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको अस्थायी संरक्षणका लागि ललितपुरको गोदावरी नगरपालिका–ठेचोमा निर्माणाधीन अस्थायी संरक्षण केन्द्र सञ्चालनको तयारी तीव्र पारिएको छ।

केन्द्रको ब्लक ‘ए’मा रंगरोगन, फ्लोरिङ, म्याट्रेस, पर्दा, कार्यालय व्यवस्थापन तथा विद्युतीय वायरिङको काम सम्पन्न भएको छ। बालबालिकालाई राख्न आवश्यक सबै कोठा तयार भइसकेका छन् भने कार्यालयसमेत पूर्ण रूपमा सञ्चालनमा आएको छ। नेपाल रेडक्रस सोसाइटीबाट २० वटा हाइजिन किटसमेत प्राप्त भएको छ।

केन्द्रको मुख्य प्रवेशद्वारमा गेट जडान भइसकेको छ भने शौचालय र किचन ब्लक निर्माणाधीन छन्। शौचालय निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले त्यस अवधिका लागि अस्थायी मोबाइल शौचालयको व्यवस्था गर्न ललितपुर महानगरपालिका र युनिसेफसँग समन्वय भइरहेको छ।

गोदावरी नगरपालिकाको समन्वयमा केन्द्र परिसरमा जमिन सम्याउने तथा ग्राभेलिङको काम भइरहेको छ। नगरपालिकाले बगैँचा निर्माण तथा सौन्दर्यीकरणका लागि नयाँ फूलसमेत उपलब्ध गराएको छ। नेपाल स्काउट्स र एलईओ स्वयंसेवकले सरसफाइ, बगैँचा विकास तथा परिसरको सौन्दर्यीकरणमा सहजीकरण गरिरहेका छन्।

यसैबीच, विपद् प्रभावित क्षेत्रमा प्रतिकार्यका लागि अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई छोटो प्रक्रियाबाट परियोजना सञ्चालन गर्न सहजीकरण गरिएको छ। समाज कल्याण परिषद्बाट हालसम्म ११८ संस्थाका १२१ नयाँ परियोजना स्वीकृत भएका छन्। ती परियोजनाको कुल बजेट ९७ करोड ८८ लाख १३ हजार ४४९ रुपैयाँ रहेको छ। थप दुई संस्थाका परियोजना संशोधन गरिएको छ, जसको बजेट २७ लाख ९४ हजार ७५० रुपैयाँ छ।

नयाँ परियोजना र संशोधनसमेत गरी विपद् प्रभावित क्षेत्रमा सञ्चालन हुने परियोजनाको कुल बजेट ९८ करोड १६ लाख ८ हजार ११९ रुपैयाँ पुगेको छ।

समाज कल्याण परिषद्को विवरणअनुसार विपद् प्रभावित नागरिकका लागि हालसम्म ५६ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले ४१ करोड २६ लाख ३५ हजार ६५३ रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेका छन्। ती संस्थाले ४ करोड ४६ लाख ३२ हजार ६६९ रुपैयाँ नगद प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन्।

त्यस्तै, ३५ वटा राष्ट्रिय गैरसरकारी संस्थाले १८ करोड ८४ लाख ३७ हजार ९८८ रुपैयाँ बराबरको सहयोग गरेका छन्। राष्ट्रिय गैरसरकारी संस्थाबाट २ करोड ९९ लाख ८ हजार ८१८ रुपैयाँ नगद प्रधानमन्त्री राहत कोषमा जम्मा भएको छ।

सरकारले विपद् प्रभावित क्षेत्रमा राहत, संरक्षण तथा पुनर्स्थापनाका लागि सरकारी निकाय, गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय साझेदारबीचको समन्वयलाई तीव्र बनाउँदै लगेको छ।

Attachments

Source: National Portal of Nepal

DigiNepal mirrors public notices for easier reading. DigiNepal is independent and is not affiliated with or endorsed by the publisher. Check the original source for the official record.

Related updates