जलवायु सङ्कट न्यूनीकरण र हिमाल–महासागर संरक्षणमा नेपाल र भानुआटुबीच सहकार्य गर्ने सहमति
४ मंसिर २०८३4 Mangsir 2083
Office of the Prime Minister and Council of Ministers
More from this departmentनेपाल र भानुआटुले जलवायु परिवर्तनका असर न्यूनीकरण, हिमाली पारिस्थितिक प्रणालीको संरक्षण तथा जलवायुजन्य क्षति र नोक्सानीको सम्बोधनका लागि द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (यूएनएफसीसीसी) को ३१औँ सम्मेलन (कोप–३१) का क्रममा आज नेपालका कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र भानुआटुका जलवायु परिवर्तनमन्त्री राल्फ रेगेनभानुबीच भएको द्विपक्षीय भेटवार्तामा उक्त विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
भेटवार्तामा मन्त्री चौधरीले नेपाल र भानुआटु दुवै जलवायु परिवर्तनको उच्च जोखिममा रहेका मुलुक भएको उल्लेख गर्दै हिमाल र महासागरको संरक्षणका लागि साझा आवाज र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो।
उहाँले ‘सगरमाथादेखि समुद्रसम्म’ भन्ने अवधारणामार्फत हिमाली मुलुक र टापु राष्ट्रले सामना गरिरहेका जलवायु सङ्कटका विषयलाई एउटै साझा एजेन्डाका रूपमा अघि बढाउन प्रस्ताव गर्नुभयो। हिमालमा हिउँ तथा हिमनदी पग्लिने क्रम र समुद्री सतह बढ्ने समस्या एकअर्कासँग अन्तरसम्बन्धित रहेको उल्लेख गर्दै उहाँले हिमाल र महासागरको संरक्षणलाई जलवायु वार्ताको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।
मन्त्री चौधरीले हालै नेपालमा रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको ठूलो मानवीय तथा आर्थिक क्षतिबारे जानकारी गराउँदै विपद्पछि भानुआटुले व्यक्त गरेको ऐक्यबद्धताका लागि धन्यवाद दिनुभयो।
सो अवसरमा नेपालले हिमालसम्बन्धी विषयलाई कोप–३१ का मुख्य निर्णयमा समावेश गर्न भानुआटुको समर्थनका लागि आग्रह गरेको थियो। भेटवार्तामा जलवायुजन्य क्षति तथा नोक्सानीको सम्बोधनका लागि दुवै मुलुकले संयुक्त आवाज उठाउनुपर्नेमा पनि जोड दिइएको थियो।
भेटवार्तामा दुवै देशबीच हिमाल, महासागर, जलवायु न्याय, अनुकूलन तथा क्षति र नोक्सानीसम्बन्धी विषयमा साझा धारणा निर्माण गर्दै अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य बढाउने विषयमा छलफल भएको थियो।
Source: National Portal of Nepal
DigiNepal mirrors public notices for easier reading. DigiNepal is independent and is not affiliated with or endorsed by the publisher. Check the original source for the official record.
Comments are public and moderated. Don’t share phone numbers, emails or ID numbers.
No comments yet.
Sign in to react, comment or save this update.