चार प्रदेशमा तीव्र गतिको हावाहुरी चल्ने मौसम विभागको पूर्वानुमान, सतर्कता अपनाउन अपिल
१० असोज २०८३10 Asoj 2083
Office of the Prime Minister and Council of Ministers
More from this departmentकाठमाडौं । देशका विभिन्न भागमा निरन्तरको वर्षासँगै तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आम सर्वसाधारणमा सतर्कता अपनाउन विशेष आग्रह गरेको छ। महाशाखाले शनिबार अपराह्न मौसमी सूचना जारी गर्दै हावाहुरी र वर्षाको जोखिमबारे आधिकारिक जानकारी गराएको हो।
महाशाखाका अनुसार हाल विशेषगरी मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा तीव्र गतिको हावा चलिरहेको छ। भारतको उत्तर प्रदेश र सो आसपासको क्षेत्रमा विकास भएको न्यूनचापीय प्रणालीको प्रत्यक्ष प्रभावका कारण आज (शनिबार) राति पनि यी चारवटै प्रदेशमा शक्तिशाली हावाहुरी चल्ने सम्भावना रहेको विभागले जनाएको छ।
यसैगरी, आइतबार दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा समेत ठूलो हावाहुरी चल्ने मौसमविद्हरूको पूर्वानुमान छ।
वर्षाको कारण र अवस्था
बंगालको खाडीमा विकसित भएको अर्को न्यूनचापीय क्षेत्रको प्रभावले विगत तीन दिनदेखि देशभर लगातारजसो वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहानैदेखि पश्चिम नेपालका अधिकांश स्थानमा वर्षा भइरहेको छ। वर्षाको यो क्रम आइतबारसम्म नै जारी रहने जनाइएको छ।
लगातारको झरी र त्यसलगत्तै चल्ने तीव्र गतिको हावाहुरीले कृषि बाली, भौतिक संरचना, यातायात तथा दैनिक जनजीवनमा समेत असर पार्न सक्ने भन्दै महाशाखाले आवश्यक पूर्वतयारी र उच्च सतर्कता अपनाउन सरोकारवाला निकाय तथा सम्पूर्ण नागरिकमा अपिल गरेको छ।
Source: National Portal of Nepal
DigiNepal mirrors public notices for easier reading. DigiNepal is independent and is not affiliated with or endorsed by the publisher. Check the original source for the official record.