चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी
१२ कार्तिक २०८३12 Kartik 20831 PDF
Office of the Prime Minister and Council of Ministers
More from this departmentभारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपास तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावको क्षति कम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले हवाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणले सन् २०२६ अक्टोबर २८ (२०८३ कात्तिक ११) मा सुरक्षा परिपत्र जारी गर्दै हवाई सेवा प्रदायक, विमानस्थल सञ्चालक, वायुसेवा सञ्चालक तथा सम्बन्धित सरोकारवालालाई आवश्यक सतर्कता अपनाउन परिपत्र गरेको हो । परिपत्रअनुसार उक्त मौसमी प्रणालीका कारण नेपालमा मध्यमदेखि भारी वर्षा, चट्याङसहितको हुरीबतास, तीव्र हावाहुरी तथा हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना छ । यसको प्रभाव विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पर्न सक्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा समेत असर देखिनसक्ने जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबार (कात्तिक १२) देखि शनिबार (कात्तिक १४) सम्म भारी वर्षा, तीव्र हावाहुरी र भिजिविलिटी कम हुनसक्ने भएकोले हवाई उडान तथा अवतरण, विमानस्थलको सञ्चालन र धावनमार्गको सतहमा समस्या उत्पन्न हुन सक्ने हुँदा सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको हो ।
प्राधिकरणले हवाई ट्राफिक व्यवस्थापन गर्ने निकायलाई प्रतिकूल मौसममा उडान व्यवस्थापनको उचित योजना बनाउन, आवश्यकताअनुसार अन्य हवाई सेवा इकाइसँग समन्वय गर्न तथा मौसमका कारण निर्धारित सञ्चालन सीमाभन्दा अवस्था खराब भएमा उडानको मार्ग परिवर्तन, होल्डिङ र अन्य आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएको छ ।
त्यस्तै, भारी वर्षा वा प्रतिकूल मौसमका कारण विमानको उडानमा असर पर्न सक्ने भएकाले राडार नियन्त्रकलाई आवश्यक दूरी कायम गर्न भनिएको छ । हावाको गति तथा दिशामा अचानक परिवर्तन हुने अवस्था (विन्ड सियर), तीव्र वायुमण्डलीय अस्थिरता र चट्याङयुक्त हुरीबताससम्बन्धी जानकारी उडान भर्ने तथा अवतरण गर्ने विमानलाई तत्काल उपलब्ध गराउन पनि परिपत्रमा उल्लेख छ ।
प्राधिकरणले वर्षाका कारण धावनमार्गमा पानी जम्ने, सतह चिप्लिने तथा विमानको ब्रेकिङ क्षमतामा असर पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै नियमित निरीक्षण गर्न निर्देशन दिएको छ । विमानस्थल सञ्चालन, सिभिल इन्जिनियरिङ तथा एयरसाइड विभागबीच निरन्तर समन्वय कायम गर्न, तीव्र हावाले उडाएर ल्याएका वस्तु तथा फोहोर हटाउन र विमानस्थलका बत्ती तथा अन्य अत्यावश्यक प्रणाली नियमित सञ्चालनमा रहेको सुनिश्चित गर्न भनिएको छ । कुनै उपकरण वा प्रणालीको सञ्चालनमा समस्या आएमा तत्काल आवश्यक सूचना जारी गर्नुपर्ने पनि परिपत्रमा उल्लेख छ ।
वायुसेवा सञ्चालक तथा उडान चालक दललाई उडानअघि मौसमको विस्तृत मूल्याङ्कन गर्न, सम्भावित ढिलाइ, होल्डिङ तथा वैकल्पिक विमानस्थलमा अवतरण गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्न र पर्याप्त इन्धन व्यवस्थापनसहित निर्धारित सुरक्षा प्रक्रियाको पालना गर्न प्राधिकरणले आग्रह गरेको छ ।
त्यसैगरी, सम्बन्धित सबै निकायलाई हवाई मार्ग सेवा तथा हवाई ट्राफिक व्यवस्थापनका अत्यावश्यक पूर्वाधार, वैकल्पिक विद्युत् आपूर्ति र सञ्चार प्रणाली तयारी अवस्थामा राख्न तथा कुनै गम्भीर जोखिम, अवरोध वा सुरक्षा घटनाबारे निर्धारित माध्यमबाट तत्काल जानकारी गराउन समेत निर्देशन दिइएको छ


Attachments
Text extracted from the PDF
This text was extracted from the attached PDF by machine and may contain errors. The attached PDF is the authoritative version.
NAC.pdf
Source: National Portal of Nepal
DigiNepal mirrors public notices for easier reading. DigiNepal is independent and is not affiliated with or endorsed by the publisher. Check the original source for the official record.
Comments are public and moderated. Don’t share phone numbers, emails or ID numbers.

No comments yet.
Sign in to react, comment or save this update.