भारी वर्षाको प्रक्षेपणपछि काभ्रेका विभिन्न क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
७ असोज २०८३7 Asoj 2083
Office of the Prime Minister and Council of Ministers
More from this departmentकाभ्रेपलाञ्चोक, ७ असोजः सम्भावित भारी वर्षालाई दृष्टिगत गर्दै काभ्रेपलाञ्चोकका विभिन्न जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गर्दै सचेतना अभियान अगाडि बढाइएको छ ।
जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेडक्वाटर र नेपाल प्रहरीले मङ्गलबारदेखि सम्भावित जोखिमयुक्त क्षेत्र दोलालघाट, रोशी खोला आसपास, भकुण्डेबेँसीलगायतका क्षेत्रका विद्यालय तथा सार्वजनिक स्थलमा माइकिङ तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
मनसुनजन्य विपद् न्यूनीकरणका लागि तयारी अवस्थामा रहन काभ्रेपलाञ्चोकस्थित जिल्ला व्यवस्थापन समितिले स्थानीय तह तथा सुरक्षा निकायलाई आग्रह गरेको छ । यसका साथै स्थानीय विपद् व्यवस्थापन समितिको अवस्थाका बारेमा जानकारी गराउन अनुरोध गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले यही असोज ८ देखि १२ गतेसम्म पानी पर्ने मौसम पूर्वानुमान सार्वजनिक भएकाले सबै स्थानीय तह र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताउनुभयो । “विपद्को जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहलाई पनि तयारी अवस्थामा रहन पत्राचार गरिएको छ”, अधिकारीले भन्नुभयो ।
जिल्लास्थित सुरक्षा निकायले भने आफूहरूसँग भएको जनशक्ति परिचालनका लागि स्रोतसाधन उपलब्ध गराइदिन सम्बद्ध निकायका अलावा स्थानीय तहलाई अनुरोध गरेको छ । काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छन् ।
Source: National Portal of Nepal
DigiNepal mirrors public notices for easier reading. DigiNepal is independent and is not affiliated with or endorsed by the publisher. Check the original source for the official record.